कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन, युएईविरुद्ध नेपालको संघर्षपूर्ण जीत

प्लेयर अफ द म्याच कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनका बावजुद युएईविरुद्ध नेपालले संघर्षपूर्ण जीत हासिल गरेको छ ।
श्रीलंकाको पि सारा मैदानस्थित कोलम्बो ओभलमा भएको खेलमा नेपाल टस हारेर फिल्डिङ गरेको थियो । तर नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल बलिङमा जमेपछि युएई एक सय ५७ रनमै सीमित भयो । भुर्तेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिन सफल भए । मौसम ढकालले पनि दुई विकेट लिए ।
प्रतिउत्तरमा एक सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले शून्य रनमै ओपनर अर्जुन साउदलाई गुमायो । त्यसपछि भने अर्का ओपनर कुशल भुर्तेलले देव खनालसँग ९८ रनको साझेदारी गर्दै टोलीलाई लक्ष्यको नजिक पुर्याए । भुर्तेल व्यक्तिगत ७१ रनमा आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्दा सहज लक्ष्य पनि मुस्किल परेको थियो । नेपालले पछिल्लो ५३ रन बनाउँदा पाँच विकेट गुमाउन पुग्यो । भुर्तेल बाहेक सन्दीप जोरा र देव खनालले २४-२४ रन बनाए भने प्रतिश जिसीले अन्त्यमा दुई चौका प्रहार खेल्दै नेपाललाई खेल जिताए ।
युएईका लागि मोहम्मद फराजुद्दीनले पाँच तथा मुहम्मद जवादुल्लाहले दुई विकेट लिए । यससँगै नेपाली टोलीको एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेट यात्रा समाप्त भएको छ । प्रतियोगिताको समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेकोमा नेपाल र युएई भने आफ्ना अघिला दुई खेलमा हार व्यहोरी समूहचरणबाटै बाहिरीइसकेका थिए ।