सार्वजनिक सवारीसाधनको भाडा घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडादर पनि घटेको छ ।
यातायात व्यवस्था विभागले इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली लागू गर्दै आएको छ । सोही अनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको मूल्य १५५ रुपैयाँ प्रतिलिटर रहेको र हाल उक्त मूल्य प्रतिलिटर १४४.८३ कायम हुँदा ६.५६ प्रतिशतले घटी भएको भन्दै विभागले भाडा समायोजन गरेको हो ।
मूल्य समायोजन अनुसार यात्रुवाहक सवारीमा २.१३ प्रतिशतले भाडादर घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.७८ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ३.०९ प्रतिशतले भाडा घटाइएको छ ।