इमर्जिङ टिम्स एसिया कप : भारत ‘ए’ विरुद्ध नेपालको लज्जास्पद हार

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत नेपालले भारत ए टिमविरुद्ध निराशाजनक ब्याटिङ गरेपछि नौ विकेटको लज्जास्पद हार व्यहोरेको छ ।
सोमबार दिउँसो २:१५ बजेदेखि श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा मैदानमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । तर टस जितेर ब्याटिङ रोज्नु नेपालका लागि प्रत्युत्पादक सावित भयो र नेपाल मात्र ३९.२ ओभर खेल्दै १६७ रनमा समेटियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ र गुल्सन झाले ३८ रन बनाए । त्यसबाहेक देव खनालले १५ र सोमपल कामीले १४ रन बनाउनु नै सबैभन्दा ठूलो उपलब्धि रह्यो । बाकिँ खेलाडीले दोहोरो अङ्कमा स्कोर बनाउन सकेनन् । एक समय ३७ रनमै ४ विकेट गुमाएको नेपाल सय रन नबनाउँदै अलआउट हुने अवस्थामा पुगेको थियो । तर त्यसपछि रोहितले सोमपालसँग ५३ र गुल्सनसँग ५४ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोर सम्म पुर्याएका थिए । बलिङतर्फ भारत ‘ए’का निशान्त सिन्धुले ४ र आरएस हाङ्गरेकरले ३ विकेट लिन सफल रहे ।
प्रतिउत्तरमा १ सय ६८ रनको लक्ष्य भारतले मात्र २२.१ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । भारतका अभिषेक शर्माले ८७ र साइ सुदर्शनले अविजित ५८ रन बनाए । ध्रुव जुरेलले पनि अविजित २१ रन बनाउँदै विजयी छक्का प्रहार गरे ।
प्रतियोगितामा समूह ‘बी’मा रहेको नेपालले आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ । समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेका छन् । यसैगरी समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन् ।