हेवाखोला किनारमा ट्रक खस्यो, एक जनाको मृत्यु

हेवाखोला किनारमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।
पाँचथरको फिदिमबाट ताप्लेजुङ जाँदै गरेको ट्रक मेची राजमार्गस्थित हेवा खोलामा दुर्घटना हुँदा हिलिहाङ गाउँपालिका-७ का ३८ वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको हो । दुर्घटनामा ट्रकमा सवार अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
ना २ ख ९२१५ नम्बरको उक्त ट्रक सडकबाट करिब ५० मिटर तल नदी किनारमा खसेको छ । दुर्घटनामा परी घाइते भएका तामाङको पाँचथर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनामा हिलिहाङ-७ कै ट्रक चालक ४५ बर्षीय ज्ञानु थापा भनिने पारषमणि थापा र ३१ बर्षीय जीवन गदाईली घाइते भएका छन् । उनीहरुको पनि पाँचथर अस्पतानमा उपचार भइरहेको छ ।