कोभिड-१९ प्रोटोकल परिमार्जन, अब अन्तर्राष्ट्रिय उडानमा भ्याक्सिन कार्ड नचाहिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ प्रोटोकल परिमार्जन गर्दै अब भ्याक्सिन कार्ड नचाहिने व्यवस्था गरेको छ ।
मन्त्रालयले एक सूचनामार्फत कोभिड संक्रमण दर, अस्पताल भर्ना दरमा उल्लेख्य कमी आएको र अधिकांश मानिसले पूर्ण मात्राको खोप पनि लगाइसकेको भन्दै कोभिड-१९ परीक्षण गरेको र खोप लगाएको प्रमाण चाहिने व्यवस्था एआइपीबाट हटाइने जनाएको हो । मन्त्रालयले नियमित निगरानी र कोभिड-१९ को जोखिममा रहेका शंकास्पद यात्रुको भने स्क्रीनिङ गर्न सकिने गरि व्यवस्था गरेको जनाएको छ ।
एआइपी अर्थात एरोनटिकल इन्फर्मेसन पब्लिकेसन कुनै पनि देशको सम्बन्धित हवाई उड्डयन प्राधिकरणले प्रकाशित गर्ने हवाई उडान सम्बन्धि हरेक किसिमका विवरण, नियम, प्रक्रिया समावेश विस्तृत नियमावली हो । यसैगरी अब मास्कको प्रयोग पनि स्वेच्छिक रुपमा मात्र हुने भएको छ ।
यस सम्बन्धमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मन्त्रालयलाई जेठ १२ गते नै सिफारिस गरेको थियो ।