कोशी सरकार गठनविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

कोशी सरकार गठनविरुद्धको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको उक्त मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्चमा शुक्रबार रिट दायर गरेको थियो । केन्द्रको गठबन्धनमा सामेल दलहरुले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर लिएर बहुमत पुर्याई सरकार गठन गरेको थियो ।
सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेकपा एमाले विरोधमा उत्रिएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाएर दायर रिटमा थापा नेतृत्वको सरकार गठन प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गर्न माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वको सरकार गठनका लागि परमादेशको समेत माग गरिएको छ ।