खाल्डोमा डुबेर दुई बालकको मृत्यु

सर्लाहीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
जिल्लाको पर्सा गाउँपालिका-४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको हो । उनीहरु शनिबार दिउँसै घरबाट खेल्न निस्किएका जनाइएको छ ।
राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्ने क्रममा राति घरभन्दा तीन सय मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा डुबिरहेको अवस्थामा दुई बालकको शव फेला परेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।