साल्ट ट्रेडिङको राहत मल भारतीय मलको बोरामा खन्याई कालोबजारी, एक पक्राउ

पर्सामा सरकारले किसानलाई राहत भनेर दिएको युरिया मल भारतीय मलको बोरामा खन्याई कालोबजारी गर्ने एक जना पक्राउ परेका छन् ।

जिल्लाको वीरगञ्ज महानगरपालिका-२१ हनुमान मन्दिर चोकमा रासायनिक मल गोदाम संचालन गरी बसेका २८ वर्षीय दिपेश कुमार साह बोरा पल्टी गरी राहत मल बेचेको आरोपमा पक्राउ परेका हुन् । शुक्रबार बिहान साढे ९ बजे साहको गोदामबाट नेपाल सरकारले किसानलाई राहत स्वरूप वितरण गर्न दिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी भारतीय युरिया मलको ४५ के.जी.को बोरामा राखि प्याकिङ गरी अनाधिकृतरूपमा कालो बजारी गरी बिक्री वितरण गरिरहेको खुलेको थियो ।

सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुर तथा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले उक्त गोदाम कोठाको खानतलासी गर्दा २ हजार २५० किलो खेती शक्ति युरीया मल फेला परेको थियो । त्यसका साथै भारतीय जन उर्वरक परियोजना मल १५ बोरा, ३२ थान शक्ति युरीया मल ५० के.जी.को खाली बोरा र १६ थान भारतीय जन उर्वरक परियोजनाको युरीया मल ४५ के.जी.को खाली बोरा पनि प्रहरीले बरामद गरेको छ ।

मल ओसारपसार कार्यमा प्रयोग भएको बिआर ०१एएस् ३५६३ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । साहलाई कालो बजारी अन्तर्गत कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट दश दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button