असार मसान्तसम्म कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या खुलाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरले असार मसान्तसम्म कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या खुलाउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगरले एसईई परीक्षामा उतीर्ण भई कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने कार्यका लागि सो संख्या खुलाउन निर्देशन दिएको छ ।
‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गर्न लागेको छ ।
साथै महानगरले विगतमा शिक्षण संस्थाहरूले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्दा देशका दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौं आउने विद्यार्थीहरू आवेदन दिन वञ्चित भएको भन्दै एसईईको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न पनि सबै शिक्षण संस्थालाई निर्देशन दिएको छ ।